दैनिकी

एपीसीबारे प्रहरीमा चलखेल
केदार ओझा
काठमाडौ, माघ २६ -
नेपाल प्रहरीले खरिद गर्न लागेको चार थान आम्र्ड पर्सनल करियर -एपीसी) विवादमा पर्ने देखिएको छ । प्रहरीले माग गरेअनुसारको सबै 'स्पेसिफिकेसन' पुर्‍याएर कुनै टेन्डर नपरेकाले विवाद हुने देखिएको हो ।यसअघि प्रहरीले सुडानमा पठाउने मिसनका लागि ४४ करोडको एपीसीलगायत सामान खरिद गर्दा साढे ३० करोडभन्दा बढी घोटाला भएको थियो । घोटालाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।सुरक्षा उपकरणहरू आपूर्ति गर्न सूचीकृत स्थानीय एजेन्टहरूमार्फत गरिएको प्रतिस्पर्धामा एपीसीका लागि सात टेन्डर परेका थिए । १५ दिनको छोटो समय दिएर आह्वान भएको प्रतिस्पर्धाका लागि १२ जनाले र्फम खरिद गरे पनि सातवटाले मात्रै प्रक्रिया पुर्‍याएर टेन्डर हालेका छन् । प्रहरी मुख्यालयले २३ गते खोलेको टेन्डरमा भारत र हङकङका दुई/दुई, सिंगापुर, कोरिया र टर्कीबाट एक/एक प्रस्ताव परेका छन् । भारतमा उत्पादन गर्ने कम्पनीले सबैभन्दा सस्तो २ करोड ११ लाख २० हजारमा दिने दाबी गरेको छ भने टर्कीको कम्पनीले 'नेटो स्टार्डड' को सबैभन्दा महँगो ३ करोड ६५ लाख ७३ हजारमा दिने प्रस्ताव पेस गरेका छन् । 'टेन्डर प्रक्रिया मूल्यांकन प्रक्रियामा छ,' आपूर्ति शाखाका डीआईजी प्रतापसिंह थापा भने, 'प्राविधिक पक्षको मूल्यांकनका लागि फायल पठाएका छौं, उक्त समितिले सात दिनभित्र फायल फिर्ता गरेपछि आर्थिक प्रस्ताव हेरिन्छ ।' उनका अनुसार सबै स्पेसिफिकेसन नमिले बढी मिल्नेलाई दिन सकिन्छ ।   यसअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई दबाब दिएर एपीसी भन्दै 'एमभीपी' -माइन प्रोटेक्टिभ भेइकल) आपूर्ति गर्न सफल समूह यसपल्ट पनि ठेक्का पार्ने प्रयासमा छ । 'सामान हैन, कुरो मिल्नुपर्छ, एपीसीको सट्टा एमभीपी मात्रै हैन, मिलाएर ह््यामर गाडी नै दिए पनि हुन्छ,' ठेक्का प्रक्रियामा संलग्नमध्येका एक आपूर्तिकर्ताले कान्तिपुरलाई भने ।प्रहरीले हाल परेका प्रस्तावहरूको प्राविधिक मूल्यांकन गरिरहेको छ । कुनै पनि आपूर्तिकर्ताले माग गरेअनुसार प्रस्ताव दिन नसकेपछि प्रहरीले ठेक्का प्रक्रिया रद्द गर्ने कि सबैभन्दा बढी मिल्दोलाई आपूर्ति गर्न दिने भन्ने छलफल गरिरहेको छ । प्रहरी मुख्यालयमा केही प्रभावशालीहरूले आफूअनुकूलका ठेकेदारलाई एपीसी आपूर्तिको अनुमति दिन लबिङसमेत थालेको स्राेतले बतायो । कुनै पनि प्रस्ताव नेपाल प्रहरीले मागेको स्पेसिफिकेसनअनुसार छैनन् । आपूर्तिकर्ताहरूका अनुसार प्रहरीले जानकारहरूसँग सल्लाह लिँदा पाएको सबै सुझाव आवश्यक विवरणमा हालेकाले स्पेसिफिकेसन भएको बताएका छन् । प्रहरीले प्रतिस्पर्धाका लागि आपूर्तिकर्तालाई दिएको ३ पेजको स्पेसिफिकेसनमा कम्तीमा पनि ४० सुविधाहरू हुनुपर्ने उल्लेख छ ।  प्रहरीले यसअघि सुडानको डार्फरमा खटिने एफपीयूका -फम्र्ड पुलिस युनिट) का लागि कल्याणकोषबाट किनेको एपीसी कामै नलाग्ने भएपछि सरकारको निर्देशनमा नयाँ किन्न लागिएको हो ।  गत पुस २१ गते मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद निर्देशिका संशोधन गरी छोटो प्रक्रियाबाट एपीसी खरिदको निर्णय गरेको थियो । प्रहरी स्रोतका अनुसार सुडान प्रकरणमा मुछिएका स्थानीय एजेन्ट शम्भु भारतीले यसपल्ट अरूको कम्पनीबाट प्रस्ताव दिलाउन लबिङ गरिरहेका छन् ।

प्रहरीमा एपीसीका लागि परेका प्रस्ताव
उत्पादक कम्पनी            मूल्य    देश
श्री लक्ष्मी डिफेन्स    भारु १ करोड ३२ लाख     भारत
सेन्सी बाओजो      यूएस डलर ३ लाख ४२ हजार     चीन
नोरिन्को     यूएस डलर ३ लाख ९७ हजार आठ सय    चीन
स्यामजोन     यूएस डलर ४ लाख २४ हजार ९९०     कोरिया
ड्राकिनबर्ग     यूएस डलर ४ लाख ४४ हजार     साउथ अपि|mका
स्टि्रट सेक्युरिटी भेइकल    यूएस डलर ४ लाख ५८ हजार     यूएई
ओटोकार     यूएस डलर ५ लाख १ हजार     टर्की