Tuesday, February 8, 2011

अनन्त शान्तिको लागी

यो शान्तिको युग हो 
कृपया
मृत्युको खेलमा मलाइ नहुत्याइयोस

यसको अर्थ
मैले नक्कली बौद्धमार्गीको गूम्वा खोजेको होइन
जहाँ भिक्षुको भेषमा वारुद भण्डारन गरिएको होस
मैले परेवा उडाउने अधिकार खोजेको होइन
जसको मनमा हिटलर जन्मेको होस

मैले खोजेको
ती मान्छेहरुलाइ छुन हो
जो मलाइ अछुत भन्छन्
त्यस्तो जीवनको बिरोध हो
जो हामीलाइ आँशुको उपाहार दिन्छन्

तर तिमीले भिष्मप्रतिज्ञा झैं
ऐलान ग¥यौ असत्यको

‘मेरो युग वन्दूकको युग हो
या त तिमी मेरो मोजलको अगाडी शान्तिसंग वस
या त मेरो वन्दुक खोस’

मैले तिम्रो वन्दुकको शान्ति भंग गर्न
मृत्युको खेल खेलेको सत्य हो
यो युगको शान्ति ल्याउन
वन्दुक थन्क्याएर चुपचाप वसेकोपनि सत्य हो
भन, तिम्रो सत्य कुन हो
मेरो सत्य यहि हो ।

कृपया मलाइ शान्ति चाहिएको छ
त्यो युगको होइन यो युगको
जहाँ न्यायको आभाष छरिएको होस
परिवर्तनको लहर फैलिएको होस
आत्मसम्मान
स्वाभिमान
समानता
र नौलो विहानीमा नवीन पवन वगेको होस ।

यसको लागी फेरि मलाइ
मृत्युको खेलमा नहुत्याइयोस
कृपया मलाइ
अनन्त अनन्त शान्ति चाहिएको छ ।
२०६७ पौष २३

No comments:

Post a Comment